नेपाल चिकित्सक संघको पहलमा “नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६” लाई समय सापेक्ष संशोधन गर्नका लागि पटक–पटक गरिएको आग्रह र नेपाल सरकारसँगको सम्झौता बमोजिम आज मिति २०७९ साल बैशाख २५ गतेका दिन “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ लाई मन्त्रीपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट जारी गरिएकोप्रति यस संघ नेपाल सरकार, संघीय मन्त्रीपरिषद् एवं सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
नेपाल चिकित्सक संघको अथक प्रयास र दवाबका बाबजुद प्राप्त यस उपलब्धीप्रति नेपाल चिकित्सक संघ गौरवान्वित महशुस गर्दछ । यो अध्यादेशमा मुख्य गरी “स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पु¥याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु¥याउने” मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिव आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्नेछ भन्ने प्रावधान थप गरिएको छ । हाल थप गरिएको यो प्रावधानले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथी हुने अस्वाभाविक र गैरमानवीय कार्यलाई पूर्णरुपमा निषेध गर्ने यस संघको विश्वास रहेको छ ।
त्यसैले आजैको मितिदेखि लागू हुने यो अध्यादेशका बारेमा सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले यथेष्ट जानकारी राख्नु हुन तथा यो अध्यादेशका सम्बन्धमा सबैलाई जानकारी गराउनका लागि यस संघका सम्पूर्ण शाखा कार्यालयहरु तथा देशभर स्वास्थ्य संस्था तथा अस्पतालहरुले आ आफ्नो स्वास्थ्य संस्था तथा अस्पतालमा फ्लेक्स बनाई सबैलाई सूचित गर्न समेत यसै विज्ञप्ती मार्फत यस संघ सबैमा हार्दिक अनुरोध गर्दछ ।
यस उपलब्धी हासिल गर्नका लागि हामीलाई निरन्तर हौसला प्रदान गर्नु हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, संघका सम्पूर्ण शाखा कार्यालयहरु, स्वास्थ्यका पेशागत संघ संस्था तथा टे«ड यूनियनहरु, निरन्तर सुझाब र सल्लाह प्रदान गर्नुहुने संघका बरिष्ठ चिकित्सकज्यूहरु, देशभरका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरु तथा सम्पूर्ण सञ्चारकर्मी साथीहरुप्रति हामि हार्दिक आभार व्यक्त गर्दछौं